विपद्को बेला कार्यकर्तालाई जनसेवामा खटिन युवा संघको आह्वान

नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभरको अविरल वर्षाले सिर्जना गरेको विपद्को अवस्थामा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रहन विशेष सर्कुलर जारी गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेले शनिबार एक विशेष सर्कुलर जारी गर्दै युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।
सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न र जनएकताको भावना सृजना गर्न आग्रह गरिएको छ।
युवा संघले विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न सबै संरचनालाई निर्देशन दिएको छ।
मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म भारी वर्षा हुने भएकाले सम्भावित जोखिम क्षेत्रमा रहेका युवालाई उच्च सावधानी अपनाउन पनि संघले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस