सिन्धुलीमा आगलागी, बुहारीको मृत्यु ससुरा घाइते
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगो लागेको थियो । यस क्रममा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जन घटनास्थलमै मृत्यु भएकी छन् भने दुर्गामान बम्जन दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएका छन्। उनका अनुसार घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दिउँसो खाजा खाने समयमा आगो लागेको देखेपछि सुशीला बम्जनले निभाउने प्रयास गर्दा ससुरालाई पनि आगोले चोट पुगेको हो।
घटनाको समयमा घरमा मृतक सुशीला, उनका सासू–ससुरा र नन्द घरमा नै थिए। मृतककी श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, प्रहरीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस