गौरमा फोहोर जलाउने क्रममा आगलागी
रौतहटको सदरमुकाम गौरमा फोहोर जलाउने क्रममा अचानक आगो सल्किँदा एउटा होटलमा आगलागी भएको छ ।
गौर नगरपालिका–१ स्थित महेशकुमार गुप्ताको स्वामित्वमा रहेको सूर्य बम्बो होटलमा सोमबार अपराह्न आगलागी भएको हो । विगत एक वर्षदेखि बन्द रहेको उक्त होटल परिसरमा सरसफाइ गर्ने क्रममा थुपारिएको फोहोरमा लगाइएको आगो अनियन्त्रित भई होटलका कटेजहरूमा फैलिएको प्रहरीले जनाएको छ । आगलागीबाट बाँस र जस्ताले बनेका पाँचवटा कटेज तथा होटल परिसरमा थुपारेर राखिएको काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब २० मिनेटभित्रै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस