२४ घण्टामा विपदबाट १० जनाको मृत्यु
विपद्जन्य घटनाबाट पछिल्लो २४ घण्टामा देशभर १० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ६९ वटा विभिन्न विपद्का घटना घटेका छन् भने २५ जना घाइते भएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङका कारण सबैभन्दा बढी पाँच जनाको ज्यान गएको छ। त्यसैगरी आगलागीबाट एक, लेक लागेर दुई तथा सर्पदंश र जनावरको आक्रमणबाट थप दुई जनाको मृत्यु भएको उनले जानकारी दिइन्।
उक्त अवधिमा मात्रै चट्याङका ३८ वटा घटना भएका छन्, जसमा १९ जना घाइते भएका छन्। यी घटनाबाट करिब ३८ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। देशका ५२ जिल्लामा यस्ता विपद्का घटना दर्ज भएका छन्।
यस्तै, पछिल्ला १४ दिनको तथ्याङ्कअनुसार विपद्का कारण ३३ जनाको मृत्यु भइसकेको छ भने १२१ जना घाइते भएका छन्। यस अवधिमा कुल ५४४ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस