भीषण भूकम्पपछि भेनेजुएलामा आपत्काल घोषणा, हजारौँको मृत्यु भएको आशंका
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शक्तिशाली दोहोरो भूकम्पपछि राष्ट्रिय आपत्काल घोषणा गरिएको छ। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको आशंकाबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्काल घोषणा गरेकी हुन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पबाट हुने मृत्यु संख्या १० हजारभन्दा माथि पुग्ने सम्भावना रहेको बताएको छ । प्रारम्भिक आकलन अनुसार जनधनको क्षति व्यापक हुन सक्ने चेतावनी दिइएको छ।
भेनेजुएलामा बुधबार केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.२ म्याग्निच्युडको प्रारम्भिक भूकम्पपछि करिब ४० सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो।
भूकम्पका कारण राजधानी काराकासमा धेरै भवन भत्किएका छन् भने विमानस्थल, सडक तथा अन्य पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। केही क्षेत्रमा विद्युत्, पानी र सञ्चार सेवा पनि प्रभावित भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रपति रोड्रिगेजसँग गृहमन्त्री तथा राष्ट्रियसभाका प्रमुख एवं उनका भाइ जर्ज रोड्रिगेज पनि उपस्थित थिए। सरकारले राहत तथा उद्धार कार्यको समन्वय र अनुगमनका लागि एक सैन्य जनरललाई जिम्मेवारी दिएको जनाएको छ।
अधिकारीहरूले मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिसकेका छैनन्। तर अमेरिकी भूगर्भ सर्वेक्षणले व्यापक क्षति र उच्च मानवीय क्षतिको सम्भावना रहेको जनाएको छ। यो भूकम्पलाई भेनेजुएलामा पछिल्लो एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस