Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

कर्णाली याक्समा भित्रिए दक्षिण अफ्रिकी स्टार डेविड मिलर


तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका विश्वचर्चित मध्यक्रमका बायाँहाते ब्याटर डेविड मिलरलाई अनुबन्ध गरेको छ। शुक्रबार क्लबले ३७ वर्षीय स्टार क्रिकेटर मिलरलाई अनुबन्ध गरिएको आधिकारिक घोषणा गरेको हो।

मिलर कर्णाली याक्समा भित्रिने छैटौँ विदेशी खेलाडी हुन्। यसअघि क्लबले पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फर्हान, चर्चित अलराउन्डर हुसैन तलात, बंगलादेशका अरिफुल हक, अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकहरूको चाहनाअनुसार विश्वस्तरीय खेलाडी टोलीमा भित्र्याउन सफल भएको बताएका छन्। “पहिलो सिजन शिखर धवनलाई ल्याएर नेपाली क्रिकेटको चर्चा बढाएका थियौँ, यसपटक मिलरसहितका चर्चित खेलाडीको आगमनले कर्णालीलाई उपाधि दाबेदार बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुग्नेछ” घिमिरेले भने।

दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा २,८०४ रन बनाइसकेका मिलरले इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास र पिसिएलजस्ता विश्वका प्रमुख लिगहरू खेलिसकेका छन्। सन् २०१७ मा उनले बंगलादेशविरुद्ध मात्र ३५ बलमा कीर्तिमानी शतक प्रहार गरेका थिए।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलका लागि कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सोमपाल कामी रहेका छन् भने टोलीमा गुल्शन झा, नन्दन यादव, पवन सरार्फ लगायतका नेपाली खेलाडीहरू समावेश छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट