बाढी र पहिरोले देशका यी प्रमुख सडकहरु अवरुद्ध
लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन् । मङ्गलवार बिहान ८ बजेसम्मको पछिल्लो तथ्याङ्कअनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख सडकहरू प्रभावित हुँदा यातायात सञ्चालनमा गम्भीर अवरोध पैदा भएको छ, जसका कारण यात्रुहरू गन्तव्यमा पुग्न सास्ती खेपिरहेका छन् ।
भौगोलिक रूपमा विकट मानिएका कर्णाली र लुम्बिनी प्रदेशका सडकहरू बाढी र पहिरोका कारण पूर्ण रूपमा ठप्प बनेका छन् । कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६, रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा बन्द छ भने जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा जेठ २३ गते खसेको पहिरोले जाजरकोट–डोल्पा सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध पारेको छ ।
यता लुम्बिनी प्रदेशको रोल्पास्थित माडी गाउँपालिका–६ हार्निडाँडामा असार २२ गते गएको पहिरोका कारण रुकुम–घोराही–सहिद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजधानी काठमाडौँ जोड्ने र पूर्व जाने बागमती प्रदेशका मुख्य मार्गहरू पनि बन्द रहेका छन् । सम्भावित बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा गत जेठ २२ गतेदेखि नै खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी गुड्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड मर्मत कार्यका कारण जेठ १५ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ, जुन आगामी असार २५ गतेसम्म बन्द रहने सडक विभागले जनाएको छ । कोशी प्रदेशको हकमा भने भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग गत वैशाख १२ गतेदेखि बाढीबाट प्रभावित भए तापनि हाल यो सडक खण्ड एकतर्फी रूपमा सुचारु छ र यहाँ वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।
सडक विभाग र स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खोल्ने प्रयास गरिरहे पनि लगातारको वर्षाका कारण कार्य प्रभावित भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस