देशका विभिन्न स्थानमा ६ जना मृत फेला
देशका विभिन्न स्थानमा महिला र किशोरसहित ६ जना मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिका-८ पल्नोदमारका ७० वर्षीय शोप बहादुर सुनार स्थानीय टेकनटार चौरमा मृत अवस्थामा फेला परेका छन्। यस्तै, काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलोमा डेरा गरी बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर सुबास तामाङ आफ्नै कोठामा मृत भेटिएका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिका-११ बस्ने ४५ वर्षीय रवीन्द्र प्रसाद चौधरी लहरनियाँस्थित स्थानीय पोखरीमा मृत फेला परेका छन् भने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ आम्बोटेस्थित ब्रम्हायणी नदीको किनारमा अन्दाजी ७० वर्षीया अज्ञात महिलाको शव फेला परेको छ।
यसैगरी, नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका-२ बोटेटोल नजिकै नारायणी नदीको तटबन्धको जालीमाथि रहेको गोरेटो बाटोमा अन्दाजी ४० वर्षीय अज्ञात पुरुषको शव भेटिएको छ।
त्यस्तै, नवलपरासी (पूर्व) कै कावासोती नगरपालिका-१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा चितवन भरतपुर महानगरपालिका-९ बस्ने ७२ वर्षीया सुकमाया दराई मृत अवस्थामा फेला परेकी छिन्। यी सबै रहस्यमयी र अप्रत्याशित मृत्युका घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले शवहरू पोस्टमार्टमका लागि पठाएर आवश्यक कानुनी अनुसन्धान तीव्र पारेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस