२४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
लगातारको मनसुनी वर्षासँगै आज देशका २४ जिल्लाका साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
बाढीको जोखिम रहेका २४ जिल्लाहरू
कोशी प्रदेश: ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा
बागमती प्रदेश: दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन
गण्डकी प्रदेश: कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ
लुम्बिनी प्रदेश: पाल्पा, रुकुम पश्चिम
सुदूरपश्चिम प्रदेश: डोटी, बझाङ, कैलाली, कञ्चनपुर
विभागका बाढीविद् विनोद पराजुलीले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्न मजदुर तथा इन्जिनियरहरूलाई नदीको बहाव हेरेर मात्र आगो बढ्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मौसमविद् डेविट ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। निरन्तरको वर्षाले पहाडी क्षेत्रमा पहिरो र तराईका भू-भागमा डुबानको जोखिम निम्त्याउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले सचेत गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस