Techie IT
२०८३ भाद्र १७, बुधबार

भोटेकोशी बाढीका वारेमा चीनका वैज्ञानिकहरु अध्ययन गर्दै


भदौ १० गते विहान नेपालको लाङ्टाङ लिरुङ क्षेत्रमा गएको विनाशकारी बाढी र लेदो प्रवाहको अन्तर्निहित कारणबारे नयाँ वैज्ञानिक तथ्य बाहिर आएको छ। 

चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्चको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले सो विपद् केवल वर्षाका कारण मात्र नभई हिमनदीको आन्तरिक अस्थिरता र बग्ने क्रममा थपिएका सामग्रीहरूले गर्दा विनाशकारी बनेको निष्कर्ष निकालेको छ। 

गत अगस्ट २६ (भदौ १० गते) का दिन लाङ्टाङ लिरुङको उत्तरी भिरालो क्षेत्रमा गएको बरफ र चट्टानसहितको ठुलो हिमपहिरो उच्च गतिमा बग्दै चीनको सिजाङस्थित केरुङ बन्दरगाहमा पुग्दा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो। घटनालगत्तै 'नेसनल तिब्बती प्लेटो डाटा सेन्टर' ले रिमोट–सेन्सिङ अवलोकन र नमुना सिमुलेसनमार्फत आपत्कालीन मूल्याङ्कन सुरु गरेको थियो। अनुसन्धान टोलीले उपग्रह तस्बिर, भूकम्प मापन केन्द्रका रेकर्ड र भिडियो फुटेजहरूको विश्लेषण गर्दै 'मुहान क्षेत्रको अस्थिरतादेखि तल्लो तटीय क्षेत्रको फैलावट' सम्मको सम्पूर्ण विपद् शृङ्खलाको पुनर्निर्माण गरेको छ। 

अध्ययनअनुसार विपद्अघि मुहान क्षेत्रमा सामान्यभन्दा कम वर्षा भएको भए पनि वर्षौँदेखिको तीव्र हिमनदीको बहाव र ग्रीष्म ऋतुमा बढेको उच्च तापक्रमले पर्माफ्रोस्ट (जमेको माटो) पग्लिने क्रम तीव्र बनाउँदा बरफ र चट्टानको स्थिरता कमजोर भएको थियो। सुरुमा खसेको पहिरो मात्र नभई करिब २२ किलोमिटर लामो उपत्यका हुँदै बग्ने क्रममा नदीको पिँध खन्ने र भिरालो भागबाट थप सामग्री समेट्दै पानीसँग मिसिने प्रक्रियाले सुरुवाती हिउँपहिरोलाई अति विनाशकारी लेदोमा परिणत गरेको अनुसन्धानले देखाएको छ। 

मुख्य पहिरो खस्नुभन्दा केही घण्टाअघि मुहान क्षेत्रमा साना स्तरका बरफ र हिउँका चालहरूसँगै केही असामान्य भूकम्पीय संकेतहरू पनि रेकर्ड भएका थिए। 

वैज्ञानिकहरूले जलवायु परिवर्तनको पृष्ठभूमिमा उच्च हिमाली क्षेत्रका जोखिमहरूको मूल्याङ्कन गर्दा केवल मुहान क्षेत्रको सामग्रीको परिमाणमा मात्र ध्यान दिन नहुने र भविष्यमा ‘पहाडबाट कति खस्छ’ भन्दा पनि ‘बाटोमा कति सामग्री मिसिन सक्छ र कुन-कुन बस्ती तथा संरचना जोखिममा पर्छन्’ भन्ने कुरामा ध्यान दिनुपर्ने आह्वान गरेका छन्। 

‘चाइनिज साइन्स बुलेटिन’ मा प्रकाशित यस अध्ययनले सीमापार विपद् पूर्वसूचना, आपत्कालीन उद्धार र जोखिम न्यूनीकरणका लागि नयाँ वैज्ञानिक आधार प्रदान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट