अबको मुख्य अभियान राइजिङ सुदूरपश्चिम हो: मुख्यमन्त्री भट्ट
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह र कार्यसम्पादन गर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजित जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले प्रदेशमा व्याप्त ‘नेगेटिभ इन्डेक्स’लाई चिर्दै ‘पोजेटिभ इन्डेक्स’मा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । प्रदेशका सबै क्षेत्र र संरचनामा सुधार ल्याएर जनताको गुमेको विश्वास फर्काउन उहाँको आग्रह छ।
हाम्रो प्रदेशलाई सबै ढंगले रूपान्तरण गर्न जरुरी छ । मुख्यमन्त्री भट्टले भने, “जनतामा रहेको निराशा चिर्दै प्रदेशका सबै संरचनाप्रति भरोसा गर्ने वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।”
अबको मुख्य अभियान “राइजिङ सुदूरपश्चिम” र सुशासनमा केन्द्रित हुनुपर्ने स्पष्ट पार्दै उनले कार्यसम्पादनका हिसाबले प्रदेशलाई देशकै अब्बल बनाउन कर्मचारीहरू जिम्मेवार बन्नुपर्ने औंल्याएका छन् ।
सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै सेवा प्रवाहमा देखिएका ढिलासुस्ती अन्त्य गर्न, पारदर्शिता र जवाफदेहिता कायम गर्न उनले निर्देशन दिएका छन् । कुनै पनि व्यक्ति वा पक्षप्रति पूर्वाग्रह नराखी निष्पक्ष र तटस्थ ढंगले काम गर्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले नीति तथा कार्यक्रमका उपलब्धि कागजमा मात्रै सीमित नभई नागरिकको जीवनस्तरमा झल्किनुपर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस