Techie IT
२०८३ भाद्र १८, बिहीबार

बाढीले चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुग्यो, ५४१ जना अझै बेपत्ता


चीन-नेपाल सीमा क्षेत्रको केरुङ नाकामा खसेको लेदोसहितको भीषण पहिरो र बाढीमा परी चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुगेको छ। सो क्षेत्रमा अझै ५४१ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। मुख्य स्थलसम्म पुग्ने बाटो पन्छाएसँगै उद्धारकर्ताहरूले खोजी कार्यलाई थप तीव्र बनाएका छन्।

सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रका अध्यक्ष कर्मा छिरिङले जिरोङमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि २ हजार ३ सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।

गत भदौ १० गते नेपालतर्फको क्षेत्रबाट सुरु भएको लेदोसहितको बाढीले केरुङ नाकामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। पहिरोले सडक, बिजुली र सञ्चार सेवा पूर्ण रूपमा ठप्प पार्दा मुख्य विपद् क्षेत्र सम्पर्कविहीन बनेको थियो।

हाल राष्ट्रिय राजमार्ग जी२१६ को एक खण्ड पुन: सञ्चालनमा आएपछि उद्धार टोलीले ठूला मेसिनरी उपकरण प्रभावित क्षेत्रमा पुर्‍याएका छन्। छिरिङका अनुसार उद्धारका लागि ४ सयभन्दा बढी गाडी र ८ हजारभन्दा बढी उपकरण परिचालन गरिएको छ। ड्रोनले करिब ८ सय पटक उडान भरेका छन् भने मुख्य क्षेत्रमा ५.४३ मेट्रिक टन खाद्यान्न तथा राहत सामग्री हवाई मार्गबाट खसालिएको छ। बाटो खुल्नुअघि उद्धार टोलीहरू स्थल, जल र हवाई मार्गको सहारा लिँदै डुङ्गाबाट तथा करिब १२ घण्टाको कठिन पैदल यात्रा गरेर पुगेका थिए।

सिजाङ क्षेत्रीय सरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले लेदोको तह औसत ४ मिटर र केही स्थानमा १६ मिटरम्म गहिरो रहेकाले गहिरो भागमा खोजी केन्द्रित गरिएको बताएका छन्। सतहमा ठूला चट्टान र बाक्लो हिलो भरिएका कारण खोजी कार्य अत्यधिक चुनौतीपूर्ण बनेको छ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार एक्स्क्याभेटर, लाइफ डिटेक्टर र तालिमप्राप्त कुकुरको सहायताले पार्किङ स्थल, संयुक्त निरीक्षण भवन र बसोबासका क्षेत्रमा खोजी भइरहेको छ। प्रभावित क्षेत्रमा सञ्चार व्यवस्था सुधार गर्न १२ वटा मोबाइल बेस स्टेशन पुन: सञ्चालनमा ल्याइएको छ।

साथै, क्षेत्रमा पुनः पहिरोको उच्च जोखिम रहेकाले मौसम विज्ञान प्रशासनको सहयोगमा रकफल रडार र स्लोप रडारमार्फत चौबीसै घण्टा निगरानी गरिँदैछ। उद्धारकर्मीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट