Techie IT
२०८३ भाद्र २२, सोमबार

रसुवा बाढी: हालसम्म १३५६ को मृत्यु, ४९९४ अझै सम्पर्कविहीन


रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३५६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म उनीहरूको शव फेला परेको छ भने अझै चार हजार ९९४ जना बेपत्ता (सम्पर्कविहीन) रहेका छन्।

प्राधिकरणका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

हालसम्म ९८ वटा शवको सनाखत भई परिवारको जिम्मा लगाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। सनाखत हुन बाँकी रहेका शवहरूको पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित सम्पर्क राखी नमूना दिन सकिने उहाँले आग्रह गर्नुभयो। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका प्रवक्ता महतका अनुसार सबैभन्दा बढी नुवाकोटबाट दुई हजार ३४० र रसुवा जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार एक हजार ९६७ जना सम्पर्कविहीन छन्। बेपत्ताहरूको खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढीका कारण घाइते भएका तथा प्रभावित भएका ६ हजार ६७६ जनाले हालसम्म स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन्।

विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनका कार्यहरू युद्धस्तरमा अघि बढाएका छन्। भोटेकोशीको बाढीले अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी सङ्घ-संस्था खोजी, उद्धार, उपचार र राहत वितरणमा निरन्तर खटिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट