Techie IT
२०८३ भाद्र २९, सोमबार

जाजरकोटमा बाढीले भूकम्पपीडितका टहरा बगायो


जाजरकोट । गएरातिको अविरल वर्षापछि आएको बाढीले जाजरकोटमा भूकम्पपीडितका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ। नलगाड नगरपालिका–१ र २ को बीचमा पर्ने बौलाहखोलामा आएको बाढीले आठभन्दा बढी अस्थायी आवास तथा पसलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। तर, बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले नलगाड–१, बैरितालका मानबहादुर विकको तीनकोठे अस्थायी टहरा पूर्ण रूपमा बगाएको छ। सोही ठाउँका बिबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एककोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राख्ने टहरा तथा नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरामा पनि पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।

त्यस्तै, बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा पनि बाढीले पूर्ण रूपमा बगाएको छ। जनक भण्डारीको फ्रेस हाउसमा रहेका करिब एक सयभन्दा बढी बोइलर कुखुरा बाढीले बगाएको छ। दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा भने हिलो र पानी पसेर आंशिक क्षति पुगेको छ।

बाढीले स्थानीय छवि महरको भे १ ह २६३३ नम्बरको अटो र हिरालाल घर्तीको ग १ त ७२ ७८ नम्बरको ट्र्याक्टरलाई माटोले पुरेर आंशिक क्षति पुर्‍याएको छ। यस्तै, नलगाड–२ का सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले खोज तथा उद्धार कार्य जारी राखेका छन्। क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।

२०७९/२०८० को भूकम्पबाट प्रभावित जाजरकोटका नागरिक अझै पनि धेरै ठाउँमा अस्थायी आवासमै बसिरहेका अवस्थामा बाढीले थप क्षति पुर्‍याएको हो। यस घटनाले भूकम्पपीडितको पुनर्स्थापना र सुरक्षित आवासको विषयलाई थप गम्भीर बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट