Techie IT
२०८३ असोज ९, शुक्रबार

प्रधानमन्त्री शाहद्वारा विपद्को बेला उच्च सतर्कता अपनाउन अपिल


देशका विभिन्न स्थानमा असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै उनले सम्भावित विपद्बाट बच्न पूर्वतयारी र सावधानी अपनाउन जोड दिएका हुन्।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएका छन्। यससँगै मेघगर्जन, चट्याङ र हावाहुरीको समेत जोखिम रहेको छ।

सरकारको निर्देशन तथा अपनाउनुपर्ने सावधानीहरू
यात्रामा सावधानी: रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। सडक सुरक्षाका लागि ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति अवलम्बन गरिएको छ।

सडक खुलाउन तयारी: जोखिमयुक्त सडकखण्ड नजिकै एक्स्काभेटर, लोडर र डोजर तयारी अवस्थामा राखिएका छन्। सडक डिभिजन कार्यालयहरूलाई २४ घण्टा सक्रिय रही सडक अवस्थाको नियमित सूचना प्रवाह गर्न निर्देशन दिइएको छ।

पर्यटक तथा विद्यालय सुरक्षा: हिमाली र पहाडी क्षेत्रका ट्रेकिङ तथा पर्वतारोहणमा रहेका पर्यटकको सुरक्षा र व्यवस्थापनमा ध्यान दिन भनिएको छ। साथै, स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार पठनपाठन बन्द गर्न तथा परीक्षा स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

स्थानीय तह र स्वास्थ्य सेवा: सबै ७५३ वटा स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक बसी जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न भनिएको छ। अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई औषधिसहित ‘हाई अलर्ट’ मा राखिएको छ।

बजार अनुगमन तथा आपूर्ति: खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा खाद्यान्नको मौज्दात राखिएको छ भने मौसमको फाइदा उठाउँदै कालोबजारी वा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्री शाहले नागरिकहरूलाई आधिकारिक सूचनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका विवरणहरू मात्र लिन आग्रह गरेका छन्। आपत्कालीन अवस्थामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय वा तोकिएका हेल्पलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट