हुम्लाको तिलगाउँमा हिमताल फुट्दा बस्ती जोखिममा, ३२ जना विस्थापित

जलवायु परिवर्तन र हिमाली भविष्यबारे राजधानी काठमाडौंमा सगरमाथा संवाद चलिरहेको बेला हुम्लाको लिमी उपत्यकामा हिमताल फुटेर ठूलो पहिरो गएको छ । नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा जेठ १ गते राति साढे ११ बजेदेखि बिहान ५ बजेसम्म लेदो र ढुंगामाटोसहितको पहिरो जाँदा १८ घरधुरी जोखिममा परेका छन् ।
५० घरधुरीमध्ये १८ घरमा ३२ जना २१ महिला, ९ पुरुष र २ बालक अहिले उच्च जोखिममा छन् । उनीहरूलाई गाउँभन्दा बाहिरको चौरमा त्रिपालमुनि सारिएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गाउँका स्थानीय राति सुतेकै बेला खहरेजस्तो ठूलो आवाज आएपछि भागाभाग गरेका थिए । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाका अनुसार, गाउँको उत्तरपट्टिबाट आएको पहिरोको स्रोत अझै निश्चित नभए पनि ५,४०० मिटरको उचाइमा रहेको हिमताल फुटेको आशंका गरिएको छ । हाल त्यहाँको यथार्थ बुझ्न पाँचजनाको स्थानीय टोली पठाइएको छ ।
पहिरोले ५ वटा काठे पुल, करिब ४० रोपनी सिँचाइयोग्य बारीमा बगाएको कुलो, खानेपानीको संरचना, १५ किलोवाट क्षमताको जलविद्युत केन्द्र, मेसिन र धर्मशालामा क्षति पुर्याएको छ । सोनाम साङ्मु लामाको घरको छतमा प्वाल परेको र छे बुटी लामाको घर चर्किएको छ भने धर्मशालाको छत पूर्णरूपमा भत्किएको छ ।
सुरक्षाकर्मीको टोलीले हाल क्षति विवरण संकलन गरिरहेको छ । जिल्लाको विकटता र पहुँचको कठिनाइका कारण सूचना ढिला सार्वजनिक भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार, घटनास्थलमा वर्षा मापन केन्द्र नहुँदा स्याटेलाइटमार्फत अध्ययन भइरहेको छ । "सेन्टिनल एसिया" प्रणाली प्रयोग गरी हिमताल फुटेको वा अस्थायी बाँध फुटेको पुष्टि एक–दुई दिनमा हुने बताइएको छ ।
सगरमाथा संवादकै दिन भएको यो घटना नेपालमा जलवायु परिवर्तनले कस्तो गम्भीर असर गरिरहेको छ भन्ने उदाहरण बनेको छ । जलवायु विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठका अनुसार, "हिमालहरूमा हिउँको सट्टा पानी पर्न थालेको, हिमताल फुट्ने, हिउँपहिरो बढ्ने घटनाहरू जलवायु परिवर्तनकै संकेत हुन् ।"
नेपालले यस्तो क्षति भोगिरहँदा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्ने आवाज झनै सशक्त रूपमा उठ्नुपर्नेमा विज्ञहरूको जोड छ । “हरितगृह ग्याँसको न्यून योगदान दिँदै आएको नेपालजस्ता देशलाई सबैभन्दा बढी मार परेको छ,” श्रेष्ठले भने, “अब सगरमाथादेखि समुद्रसम्मका मुलुकहरूलाई एकजुट पार्दै दबाब बढाउनुपर्छ ।”
तपाईको प्रतिक्रिया दिनुहोस