कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषद् बैठक सम्पन्न

आज काठमाडौँमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषद् (२५औँ) बैठक सम्पन्न भएको छ।
बैठक कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन, डा. किशोरचन्द्र दाहालको अध्यक्षतामा सुरु भएको थियो भने त्रि.वि. रजिष्टार प्रा.डा. केदार रिजाल प्रमुख अतिथि थिए। बैठकमा डिन डा. दाहालले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आगामी वर्षमा संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूको शैक्षिक र भौतिक संरचना विकास गर्ने योजना अघि सारेका थिए ।
डा. दाहालले वर्तमानमा सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या घट्ने समस्यालाई ध्यानमा राख्दै नयाँ सम्बन्धन नदिने र हाल रहेका सामुदायिक क्याम्पसहरूको स्तर उन्नत गर्ने योजना प्रस्तुत गरेका छन् । केन्द्रिय क्याम्पस, किर्तिपुरमा विभिन्न जातका १०० वटा फलफुलका विरुवा रोपिएको र त्यसमा अनुसन्धान भइरहेका पनि जानकारी दिएका थिए । विगत १२ वर्षदेखि नियमित नभएको “कृषि सन्देश” पत्रिकालाई यसै वर्षदेखि नियमित गर्ने योजना पनि डिनले प्रस्तुत गरेका छन् ।

गौरदह क्याम्पस, झापामा शिक्षकहरूको आवास गृह र ५०/५० विद्यार्थी बस्ने छात्रावास निर्माण आगामी वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। समयानुकूल र बजार आवश्यकताका आधारमा स्नातकदेखि स्नातकोत्तर स्तरका कोर्षहरू परिवर्तन गर्ने र केही नयाँ कोर्षहरू थप गर्ने योजना पनि डा. दाहालले जानकारी गराए। विशेषगरी, गौरदह क्याम्पसमा आगामी वर्ष भेटेरिनरी स्नातक कार्यक्रम थप गरी आवश्यक प्रक्रिया पूरा गरेर अध्यापन सुरु गर्ने योजना पनि अघि सारिएको छ।
त्यसैगरी, बैठकमा सहायक डिन डा. हरिकृष्ण पन्तले आ.व. २०८२/०८३ को विकास, नियमित तथा आन्तरिक स्रोतको बजेट प्रस्तुत गरेका थिए । उनले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कुल खर्चको करिब ५० प्रतिशत आन्तरिक स्रोतबाट जुटाउने तथ्य प्रस्तुत गर्दा सहभागी सदस्य र अतिथिहरूले सराहना व्यक्त गरेका थिए । डा. पन्तले आगामी दिनमा सामुदायिक तथा आंगिक क्याम्पसहरूलाई सम्बन्धित प्रदेश र स्थानीय सरकारको सहयोग पाए गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत पुग्ने आशा व्यक्त गरेका थिए । उनले विभिन्न कलेजका ल्याब र भौतिक संरचना निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
सहभागिहरुले नीति तथा कार्यक्रम र बजेट माथि आ-आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए । सहभागिहरुबाट आएको सुझावलाई ग्रहण गरि नीति तथा कार्यक्रम लाई पूर्णता दिने डीन डा. दाहालले बताएका छन्
आजको बैठकले कार्यान्वयन समिति र माइन्यूट समिति पनि गठन गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस