ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ग्रिसको क्रेट र सान्टोरिनी टापुमा बिहीबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
युएसजिएसले जनाए अनुसार क्रेटको राजधानी हेराक्लिओनबाट करिब ८२ किलोमिटर उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा यो भूकम्प गएको हो।
पर्यटकहरूको आकर्षक स्थल सान्टोरिनी र छिमेकी टापुहरूमा पछिल्लो केही महिनादेखि लगातार भूकम्पका कम्पनहरू महसुस भइरहेका छन्, जसका कारण त्यहाँका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको छन् ।
ग्रिसको मुख्य भूमिको दक्षिणपूर्वमा अवस्थित साइक्लेड्स समूहका सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूमा जनवरी महिनाको अन्त्यदेखि हजारौं साना भूकम्प रेकर्ड भएका छन् । यद्यपि, हालको ६.१ म्याग्निच्युडको भूकम्पीय झुण्डले जनधनको कुनै ठूलो क्षति गरेको छैन ।
अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् । तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको भूकम्प पहिलो पटक अनुभव गरेको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस