Techie IT
२०८२ असोज २१, मंगलबार

नेपाल वायुसेवा निगमका दुई जहाज ग्राउन्डेड, यात्रु मारमा


जम्मा चारवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जहाज ‘ग्राउन्डेड’ भएपछि यात्रुहरू समस्यामा परेका छन्।

निगमसँग दुईवटा वाइडबडी (एयरबस ३३०–२००) र दुईवटा न्यारोबडी (एयरबस ३२०–२००) गरी चार जहाज छन्। तीमध्ये एउटा वाइडबडी र एउटा न्यारोबडी अहिले ग्राउन्डेड रहेको निगम स्रोतले जनाएको छ।

निगमको दर्ता नम्बर ‘९एन–एकेडब्लू’ भएको न्यारोबडी विमान असोज १४ गतेदेखि साउदी अरबको दम्माममा ग्राउन्डेड छ। त्यस्तै, ‘९एन–एएलवाई’ दर्ता नम्बरको वाइडबडी विमान आइतबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको स्रोतले जानकारी दियो।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार दम्मामस्थित न्यारोबडी विमानमा ‘बर्ड स्ट्राइक’ (चरा ठोक्किने) घटना भएपछि विमान मर्मतका लागि रोकिएको हो। “मर्मत कार्य जारी छ, मंगलबारसम्म काम पूरा हुने अपेक्षा गरिएको छ,” उनले बताए।

त्यस्तै, काठमाडौंमा ग्राउन्डेड वाइडबडी विमानमा ‘हाइड्रोलिक आयल लिकेज’ समस्या देखिएको प्रवक्ता डाँगीले जानकारी दिए। उनका अनुसार उक्त विमानका केही उपकरण फेर्नुपर्ने भएकाले मर्मतमा केही समय लाग्नेछ। “आवश्यक सामान मागिएको छ, एक–दुई दिनभित्र विमान पुनः उडानमा फर्कनेछ,” उनले भने।

हाल चार जहाजमध्ये दुईवटा ग्राउन्डेड भएपछि निगमको उडान तालिका नराम्ररी प्रभावित भएको छ। दैनिक नयाँदिल्ली उडानका लागि प्रयोग हुँदै आएको वाइडबडी विमान ग्राउन्डेड भएपछि निगमले त्यसको सट्टा न्यारोबडी विमान पठाएको छ।

तर २७४ सिट क्षमताको वाइडबडीका सट्टा सानो विमान पठाउँदा ठूलो संख्यामा यात्रु अफलोड गर्नुपरेको निगम स्रोतले जनाएको छ। “काठमाडौं र दिल्ली दुवैतर्फ एक सयभन्दा बढी यात्रुहरू अफलोड गर्नुपरेको छ,” प्रवक्ताले भने, “यसले निगमको उडान तालिका मात्र होइन, साख पनि प्रभावित भएको छ।” दुई विमान ग्राउन्डेड भएर अन्तर्राष्ट्रिय उडानमा समस्या आइरहेको निगमलाई सरकारले भैरहवा विमानस्थलमा ठूलो विमान उडाउन निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार भैरहवामा धेरै यात्रु अलपत्र परेको सूचनापछि प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव एकनारायण अर्यालले निगमलाई उक्त निर्णय कार्यान्वयन गर्न भनेका हुन्।

“भैरहवामा धेरै मानिस फसेको रिपोर्ट आएपछि प्रधानमन्त्रीज्यू र मुख्यसचिवज्यूको पहलमा निगमलाई त्यहाँ उडान गर्न भनिएको हो,” उनले भने, “आजै उडान गर्न भनिए पनि विमान उपलब्ध नहुँदा भोलि विशेष उडान हुने भएको छ।”

बीपी राजमार्ग लगायत मुख्य राजमार्गहरू बन्द हुँदा यात्रुहरू पूर्वी नेपालतर्फ अलपत्र परेका बेला भैरहवामा ठूलो विमान किन पठाइँदैछ । उनका अनुसार विगतमा पनि यस्ता विशेष उडानहरू भएका थिए, र यसपालि पनि प्रधानमन्त्रीकै पहलमा यात्रुलाई राहत दिन यस्तो निर्णय गरिएको हो।

राजमार्गहरू सञ्चालनमा आइसकेको बेला आन्तरिक उडानले निगमको तालिका प्रभावित पार्छ कि भन्ने प्रश्नमा उनले भने, “निगमको नियमित उडान तालिका प्रभावित नहुने गरी भैरहवा उडान गर्न भनिएको हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट