करदाता प्रोत्साहन उपहार भोलि घोषणा हुँदै, दैनिक १ लाख र बम्परमा १० लाख पाइने
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। आज बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारी गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ। साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी विभागको वेबसाइटमा बिल अपलोड गरेका उपभोक्ताका लागि यो उपहार घोषणा गरिनेछ।
विजेताको छनोट कसरी हुन्छ ?
दैनिक उपहार: साउन १ देखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर जनही १ लाख रुपैयाँ नगद उपहार पाउनेछन्।
बम्पर उपहार: साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने सबै उपभोक्ताका लागि घोषणा हुने बम्पर उपहारमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन्। (यो पुरस्कार रकममा भने कर लाग्नेछ।)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको थियो। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ। यसमा सहभागी हुनका लागि निम्न कुरामा ध्यान दिनुपर्नेछ ।
बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिनेछन्। तर, उपहार प्राप्त गर्न बिल अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमार्फत अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस