भारत, चीन र विश्व बैंकबाट तत्काल २५ अर्ब बढीको सहायता घोषणा
विपद्ग्रस्त नेपालका बाढीप्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा सामग्री सहयोग गर्ने घोषणा गरेका छन्। बाढीको भीषण क्षति भएको समाचार बाहिरिनेबित्तिकै अन्तर्राष्ट्रिय दातृ निकाय र छिमेकी राष्ट्रहरूले सहायताका लागि द्रुत गतिमा समन्वय गरेका हुन्।
प्राप्त विवरणअनुसार, बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०:३५ बजे नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब रु. २५ अर्ब उपलब्ध गराउन सकिने जानकारी गराएका थिए।
त्यसैगरी, दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीहरूको सूची तत्काल पठाउन नेपाल सरकारसँग आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायतका वरिष्ठ मन्त्रीहरूसँगको समन्वयमा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
यता, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि बाढीपीडितका लागि तत्काल नगद सहयोग गर्ने घोषणा गरेको छ। त्यसका लागि आवश्यक रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।
छिमेकी राष्ट्रहरू र दातृ निकायबाट प्राप्त यस प्रकारको उदार सहयोग र प्रतिबद्धताप्रति नेपाल सरकारको तर्फबाट गहिरो आभार व्यक्त गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार, प्राप्त हुने सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्न अन्तर-सरकारी समन्वय गरी सहयोगको कार्यविधि (मोडालिटी) का सन्दर्भमा हाल छलफल भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस