नेपाल राष्ट्र बैंकको 'फिनटेक रणनीतिमा के छ सुधारका योजना ?
नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय समावेशीकरण र दिगो आर्थिक विकास हासिल गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले “डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७–२०३०/३१)” को रणनीतिक खाका अघि सारेको छ।
नीतिगत सुधार, उत्थानशील डिजिटल पूर्वाधार र प्रभावकारी अनुगमनमार्फत उत्तरदायी डिजिटल वित्तीय सेवा प्रवर्द्धन गर्दै उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने प्रमुख लक्ष्यसहित केन्द्रीय बैंकले यो खाका तयार पारेको हो।
रणनीतिक खाकाअनुसार नीतिगत सुधारमार्फत डिजिटल वित्तीय सेवाको पहुँच बढाउने, नवप्रवर्तनको प्रयोग गरी सेवाको लागत घटाउने तथा वित्तीय क्षेत्रमा प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। विशेषगरी वित्तीय पहुँचबाट पछाडि परेका लघु, घरेलु, साना तथा मझौला उद्यम (MSMEs), ग्रामीण क्षेत्र, महिला, युवा, बालबालिका र “गिग इकोनोमी”का श्रमिकलाई प्राथमिकतामा राखिएको छ।
वित्तीय समावेशीकरणका लक्ष्यहरू प्राप्त गर्न यस खाकालाई पूर्वाधार विकास, नीति, नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास गरी तीन मुख्य स्तम्भमा विभाजन गरिएको छ। यसबाट सुरक्षित, विश्वसनीय र समावेशी डिजिटल वित्तीय प्रणालीको निर्माण भई मुलुकको दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।



तपाईको प्रतिक्रिया दिनुहोस