कालीकोटमा शिक्षक अभाव, १९ पटक विज्ञापन गरिए पनि दर्खास्त शून्य
रूपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि १९ पटक विज्ञापन गरे पनि शिक्षक पाउन सकेको छैन
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव गहिरिंदै गएको छ। विशेषगरी गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक पाउन निकै कठिनाइ भइरहेको विद्यालयहरूले बताएका छन्।
नरहरिनाथ गाउँपालिका–७ माल्कोटस्थित रूपादेवी माध्यमिक विद्यालयले गणित विषयका लागि १९ पटक विज्ञापन गरे पनि शिक्षक पाउन सकेको छैन। संघीय अनुदान कोटामा प्राप्त दरबन्दीका लागि गत वर्षदेखि निरन्तर विज्ञापन गर्दा पनि दर्खास्त नपरेको विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताए।
“गणित शिक्षक पाउनै गाह्रो भयो। अध्यापन अनुमतिपत्र भएका व्यक्तिले मात्र आवेदन दिन पाउने प्रावधान छ, तर अहिलेसम्म दर्खास्त परेको छैन,” बुढाले भने । विद्यालयले कात्तिक ३० गते १९औँ पटक आवेदन आह्वान गरेको थियो। सोमबार अन्तिम मिति भए पनि दर्खास्त नपरेको उनले बताए।
मानापाथी उठाएर २०३५ सालमा स्थापना गरिएको विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म ३७५ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा ३ स्थायी दरबन्दीसहित पालिका अनुदान र निजी स्रोतमा १३ जना शिक्षक कार्यरत छन्।
त्यस्तै, शुभकालिका गाउँपालिका–५ का माध्यमिक विद्यालयहरूमा पनि विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव यथावत छ। गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यका अनुसार, स्थायी दरबन्दी नभएका १२ माध्यमिक विद्यालयलाई संघीय अनुदानमा प्रति विद्यालय ३ शिक्षकको दरबन्दी भए पनि शिक्षक भेटिएको छैन।
सरकारले प्रतिव्यक्ति रु ४३ हजार ६८९ तलब दिने व्यवस्था गरेको छ। तर दुर्गम क्षेत्रमा बसाइ र सुरक्षालगायत चुनौतीका कारण इच्छुक शिक्षक नआएको स्थानीय तहहरूको भनाइ छ।
पलाता गाउँपालिकाले पनि गत वर्ष संघीय अनुदानबाट अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक भर्ना गर्न विज्ञापन गरे पनि दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताए। उनका अनुसार, विषयगत शिक्षक अभाव कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस