Techie IT
२०८२ पौष १८, शुक्रबार

खुला विश्वविद्यालयबाट पहिलो पीएचडी गर्ने डा. बाबुराम भुलले रचे इतिहास


नेपाल खुला विश्वविद्यालयबाट पहिलो विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति डा. बाबुराम भुल बनेका छन्। विश्वविद्यालयले बुधबार उनलाई औपचारिक रूपमा विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको छ।

विश्वविद्यालय प्रशासनका अनुसार, डा. भुलले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि पूरा गरेका हुन्। उनी हाल महालेखा परीक्षकको कार्यालयमा लेखा परीक्षण अधिकारी (शाखा अधिकृत) का रूपमा कार्यरत छन्।

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३, बरदादेवी भुवामाझ घर भएका भुलले ‘प्रतिनिधिमूलक कर्मचारीतन्त्र: नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिमा सकारात्मक विभेद (आरक्षण) सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध’ शीर्षकमा अनुसन्धान गरेका हुन्। उनका अनुसन्धानले किनारीकृत समुदायका कर्मचारीको आरक्षणप्रतिको धारणा र संगठनप्रतिको प्रतिबद्धताबीचको अन्तरसम्बन्धलाई केन्द्रित गरेको छ।

विश्वविद्यालयका अनुसार, यो अध्ययनले नेपालको निजामती सेवामा कार्यरत सीमान्तकृत समुदायका कर्मचारीको संस्थागत प्रतिबद्धता, समावेशी शासन र सार्वजनिक नीति निर्माण मा वैज्ञानिक दृष्टिकोण र नयाँ बहस थप्ने विश्वास लिएको छ। विशेषगरी आरक्षण नीतिको प्रभावकारिता र संगठनात्मक कार्यसम्पादनबीचको सम्बन्धलाई उजागर गर्ने दृष्टिले यस अनुसन्धानलाई महत्त्वपूर्ण मानिएको छ।

शैक्षिक यात्राको हिसाबले डा. भुलले अछामस्थित सरस्वती माध्यमिक विद्यालय, जयगढबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर, कानुनमा स्नातक तथा एमफिल अध्ययन पूरा गरेका छन्।

विश्वविद्यालयका अनुसार, डा. भुल सम्भवतः भुल समुदायबाट विद्यावारिधि हासिल गर्ने पहिलो व्यक्ति हुन्। यस उपलब्धिलाई व्यक्तिगत सफलतासँगै सीमान्तकृत समुदायका लागि उच्च शिक्षामा पहुँच र प्रतिनिधित्व को दृष्टिले पनि ऐतिहासिक मानिएको छ।

डा. भुललाई आगामी माघ ११ गते नेपाल खुला विश्वविद्यालयको दीक्षान्त समारोह मा औपचारिक रूपमा दीक्षित गरिनेछ। समारोहमा विश्वविद्यालयका कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन ले उनलाई दीक्षा प्रदान गर्ने कार्यक्रम तय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट