३ दिनमै कापी जाँच हुने, १ महिनाभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने तयारी
माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बाट शुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्ष परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण गर्ने र एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छोटो समयमै नतिजा निकाल्ने गरी कार्ययोजना बनाइएको हो।
राष्ट्रिय परीक्षा बोर्डले पनि परीक्षा सकिएलगत्तै कापी परीक्षण सुरु गर्ने र एक महिनाभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित सर्कुलर जारी गर्ने तयारी गरेको छ। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउन लागिएको छ।
विगतमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत संकलन गरी जिल्ला तथा प्रदेश स्तरमा परीक्षण गर्दा नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको थियो। तर यसपटक प्रक्रिया छोट्याएर छिटो नतिजा ल्याउने लक्ष्य राखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि कापी परीक्षण छिटो सम्पन्न गरी एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए।
कापी परीक्षणपछि शिक्षा विकास तथा समन्वय इकाइहरूले प्राप्ताङ्क राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछन्। बोर्डले इन्ट्री र रूजु प्रक्रिया पूरा गरेर वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
यस वर्ष एसइईका लागि देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् भने कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस