म्याग्दीमा पहिरोका कारण बेनी–जोमसोम सडक पटक–पटक अवरुद्ध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, सिरुवारीमा खसेको पहिरोका कारण कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने यो सडक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना समेत हो। तर, निरन्तर खस्ने पहिरोका कारण सडकमा सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ।
कालीगण्डकी नदीको सतहदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर खस्दा सडकमा यात्रा गर्नेहरू जोखिममा परिरहेका छन्। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार, सामान्य वर्षामा पनि पहिरो खस्ने र सडक हिलाम्मे हुने भएकाले जोखिम मोलेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।
‘सवारी गुडिरहेका बेला माथिबाट ढुंगा खस्ने भएकाले यात्रुहरू त्रसित हुन्छन्। हामीले उच्च सावधानी अपनाएर मात्र गाडी चलाएका छौँ,ʼ थापाले बताए।
पहिरोका कारण सडक साँघुरो बनेपछि एकतर्फी मात्र सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिएका छन् । उनका अनुसार, एकतर्फी सवारीका कारण घण्टौंसम्म जाम हुने गरेको छ।
यस समस्यालाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरोस्थल नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ। आयोजनाका इन्जिनियर विष्णु चापागाईंका अनुसार, बर्खाभरि निरन्तर पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्नुपरेको छ।
‘सिरुवारीको पहिरो ठूलो भएकाले यसको दीर्घकालीन समाधानका लागि अध्ययन भइरहेको छ। तत्कालका लागि पहिरो पन्छाएर सवारी सञ्चालन भइरहेको छ, वर्षा रोकिएपछि सडकलाई दुईतर्फी सञ्चालन गर्न सकिने गरी मर्मत गरिनेछ,ʼ इन्जिनियर चापागाईंले बताए।
उनका अनुसार, सडकखण्डका अन्य जोखिमपूर्ण स्थानहरू चमेरे, बैसरी र गुइठेभिरमा पहिरो रोकथामका काम अघि बढाइएको छ भने रुप्से झरना क्षेत्रको सडक ढलानका लागि ठेक्का प्रक्रिया पनि सुरु गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस