रोजगारीको प्रलोभनमा भारत पुर्याएर मिर्गौला झिक्ने गिरोह पक्राउ, ५० भन्दा बढी पीडित रहेको आशंका

रोजगारी दिलाइदिने बहानामा नेपाली नागरिकलाई भारत पुर्याई शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मानव अङ्ग व्यापारजस्तो गम्भीर तथा अन्तरदेशीय संगठित अपराधमा संलग्न तीन जना नेपाली नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार उर्फ राजकुमार परियार, नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली र सोही पालिकाको वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली छन्। उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरिएको ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
पक्राउ परेका अभियुक्तहरूले २०८२ साल जेठ महिनामा एक नेपाली युवकलाई मासिक १०–२० हजार भारु कमाइ हुने भन्दै होटलमा जागिर लगाइदिने प्रलोभन देखाएर भारतको चण्डीगढसम्म पुर्याएका थिए। उनीहरूलाई काठमाडौंको कोटेश्वरबाट कलंकी हुँदै भैरहवा–सुनौली सीमापार गराइएको थियो।
पीडितलाई चण्डीगढस्थित एक अपार्टमेन्टमा राखेर मेडिकल जाँच गराइएको थियो। त्यसपछि उनलाई मिर्गौला दिन ६ लाख रुपैयाँ दिने प्रलोभन देखाइएको एसएसपी पंगेनीले बताएका छन् । जब पीडितले अस्वीकार गरे, त्यसपछि उनीमाथि मानसिक त्रास र करकाप गरियो । अन्ततः २०८२ साउन ९ गते जबर्जस्ती बायाँ मिर्गौला निकालिएको थियो।
पीडितको उजुरीपछि ब्युरोले साउन २१ गते समिर नेपालीलाई नयाँ बसपार्क क्षेत्रबाट, राकेश नेपालीलाई बानियाँटारबाट र साउन २२ गते राजकुमार परियारलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरू विगत लामो समयदेखि नेपाल–भारत दुवै देशमा बसेर अवैध मानव अङ्ग कारोबार गर्दै आएका थिए। ब्युरोका अनुसार हालसम्म ५०–६० जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकिएको प्रारम्भिक तथ्यले देखाएको छ।
"भारतमा रोजगारीको प्रलोभन देखाउने, नेपालबाट ओसार्ने, क्लिनिकमा पुर्याएर जाँच गराउने र मिर्गौला झिक्ने काममा यिनै व्यक्ति संलग्न देखिएका छन्," एसएसपी पंगेनीले भने।
तीनै जना पक्राउ परेका अभियुक्तलाई संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ। ब्युरोले घटनामा संलग्न अन्य व्यक्तिको खोजी पनि तीव्र पारेको छ।
ब्युरोका प्रमुख पंगेनीका अनुसार, यो केवल एक घटना मात्र होइन, गरिबी, बेरोजगारी र सामाजिक असमानताको फाइदा उठाउँदै नेपाली युवालाई अन्तरदेशीय गिरोहले जालमा पार्ने प्रवृत्तिको प्रतिविम्ब हो। मिर्गौला तस्करी नेपालमा गहिरिँदो समस्या बन्दै गइरहेको र अन्तरदेशीय सहकार्य तथा कानुनी कठोरता नबढाएसम्म यस्ता अपराध नियन्त्रणमा आउन नसक्ने अवस्था रहेको पंगेनीले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस