अब नर्सिङ लाइसेन्स नवीकरणका लागि अनिवार्य तालिम लिनुपर्ने

नेपाल नर्सिङ परिषद्ले आगामी १ माघदेखि लागू हुने गरी नर्स र मिडवाइफका लागि नयाँ निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रम लागू गरेको छ। यस कार्यक्रमअन्तर्गत उनीहरूले ज्ञान, सीप र पेसागत क्षमता अभिवृद्धि गर्न विभिन्न तालिममा सहभागी हुनुपर्नेछ।
सीपीडी कार्यक्रमअनुसार, ६ वर्षभित्र न्यूनतम ६० घन्टाको तालिम नलिए नर्स र मिडवाइफको लाइसेन्स नवीकरण नहुने छ। परिषद्का अध्यक्ष सरला केसीका अनुसार अबदेखि लाइसेन्स नवीकरणका लागि अनिवार्य रूपमा सीपीडी क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्नेछ।
अहिलेसम्म नर्सिङ लाइसेन्स ६ वर्षमा नवीकरण गर्नुपर्ने भए पनि, निश्चित शुल्क बुझाएर स्वचालित रूपमा नवीकरण हुने व्यवस्था थियो। तर नयाँ प्रणालीमा आवश्यक ज्ञान र सीप अद्यावधिक गर्नुपर्ने छ।
परिषद्ले जनाएको छ, कार्यक्रमले नर्सहरूको ज्ञान र सीपलाई परिष्कृत गर्दै बिरामीसँगको असमझदारी न्यूनीकरण, संक्रमण रोकथाम र नियन्त्रणमा मद्दत पुर्याउनेछ।
‘नर्सले लाइसेन्स लिएर अभ्यास नगरी बस्दा ज्ञान खिइन्छ, जसको सिधा असर जनस्वास्थ्यमा पर्छ,’ अध्यक्ष केसी भन्छिन्। ‘त्यसैले नर्सहरूले हरेक वर्ष कम्तीमा १० क्रेडिट प्वाइन्ट र ६ वर्षमा ६० क्रेडिट प्वाइन्ट हासिल गर्नुपर्ने व्यवस्था गरेका छौँ।’
नर्सहरूले ६ वर्षभित्र कम्तीमा ६० देखि १२० घण्टाको तालिम लिनुपर्नेछ। स्वास्थ्य संस्था वा शिक्षण संस्थाले नै यस तालिमको व्यवस्था गर्नुपर्नेछ। तालिम विषयवस्तुमा संवाद सिप, बेसिक लाइफ सपोर्ट, संक्रमण रोकथाम तथा बचाउ, मेडिकल नैतिकता र ज्ञान अभिवृद्धि समावेश हुनेछ।
सीपीडी क्रेडिट प्वाइन्ट विभिन्न प्रशिक्षण, वर्कशप, सेमिनार, रिसर्च र अस्पतालले सञ्चालन गर्ने निरन्तर नर्सिङ शिक्षा कार्यक्रममा सहभागी भएर प्राप्त गर्न सकिने परिषद्ले जनाएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यशाला, गोष्ठी, सभा र सम्मेलनमा सहभागितालाई पनि मान्यता दिइनेछ।
परिषद्ले स्वास्थ्य संस्था र शिक्षण संस्थालाई पत्राचार गरी तालिमका विधि र आवश्यक घण्टाको स्पष्ट व्यवस्था पठाइसकेको छ। शिक्षण संस्था, स्वास्थ्य संस्था वा नेशनल हेल्थ ट्रेडिङ सेन्टरबाट लिइएको तालिममात्र मान्यता प्राप्त हुनेछ। दक्षता, अनुभव, उपलब्धि र सक्रियताको आधारमा मूल्यांकन हुने भएकाले नर्सलाई कुनै आर्थिक भार पर्ने छैन।
परिषद्को वेबसाइटमा विभिन्न तालिम र कार्यक्रमबाट पाउन सकिने क्रेडिट प्वाइन्टको विवरणसमेत प्रकाशित गरिएको छ।
अध्यक्ष केसीका अनुसार, मेडिकल पेशामा नयाँ प्रविधि र औषधि निरन्तर थपिँदै जाने भएकाले समय अनुसार ज्ञान र सीप अद्यावधिक गर्नु आवश्यक छ। यसअघि लाइसेन्स नवीकरण शुल्क बुझाएर हुने प्रणाली निष्क्रिय भएको कारण सुधार गर्दै कार्यक्रम ल्याइएको हो।
तालिम, ओरिएन्टेसन र रिफ्रेसर कोर्समा सहभागी हुनुपर्नेछ। नयाँ उपचार र प्रविधि अनुसार अपडेट हुन नसक्ने नर्सले गुणस्तरीय सेवा दिन सक्दैनन्। परिषद्ले अस्पताल र शैक्षिक संस्थालाई तालिमका लागि जिम्मेवार बनाएको छ।
‘निजी अस्पतालहरूले नर्सलाई तालिमका लागि समय र सुविधा दिनुपर्छ, त्यसैले संस्था आफैंले तालिममा पठाउनुपर्छ,’ अध्यक्ष केसीले भनिन्।
दशैं–तिहारपछि विभिन्न प्रदेशका अस्पताल र शैक्षिक केन्द्रहरूमा ओरिएन्टेसन कार्यक्रम सञ्चालन हुने तयारी गरिएको छ। परिषद्को दीर्घकालीन उद्देश्य भनेकै नर्सहरूलाई नियमित अपडेट गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु हो।
तपाईको प्रतिक्रिया दिनुहोस