Techie IT
२०८२ असोज २२, बुधबार

तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस तीव्र, २९ जनाको मृत्यु


तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेइ) तीव्र रूपमा फैलिँदा ०८२ वैशाखयता १५१ जना सङ्क्रमित भएका छन् भने २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा मृत्युदर बढेको छ।

मृत्यु हुनेमध्ये १५ जना पुरुष र १४ जना महिला छन्। पीडितमध्ये ७६ प्रतिशत ४० वर्षमाथिका हुन्। २ महिनादेखि ८९ वर्षसम्मका ८२ जना पुरुष र ६९ जना महिला जेइबाट सङ्क्रमित भएका छन्।

गत वर्ष ८० जना सङ्क्रमित हुँदा २५ जनाको मृत्यु भएको थियो। यस वर्ष रोग पूर्वी नेपालबाट सुरु भएर पश्चिमतिर फैलिएको छ। हालसम्म ४१ जिल्लामा सङ्क्रमण पुष्टि भएको छ। लुम्बिनीमा ५१, गण्डकीमा २६, बागमतीमा २२, कोशीमा १८, मधेसमा १५, सुदूरपश्चिममा १४ र कर्णालीमा ५ केस देखिएका छन्।

डा. गौतमका अनुसार यो रोग धानखेती हुने क्षेत्र र सुँगुर–हाँस पालन गर्ने परिवारमा बढी देखिन्छ। संक्रमित लामखुट्टेको टोकाइबाट रोग सर्ने भएकाले यो मुख्यतया असारदेखि कात्तिकसम्म मौसमी रूपमा फैलिन्छ।

जेइ मस्तिष्कमा सुजन ल्याउने भाइरल सङ्क्रमण हो। प्रारम्भिक लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, भ्रम, चेतमा परिवर्तन, र गम्भीर अवस्थामा कोमासम्म पुग्ने खतरा हुन्छ। गम्भीर केसमध्ये तिहाइ बिरामीको मृत्यु हुने र बाँचेका केहीमा स्थायी अपाङ्गता हुने सम्भावना रहन्छ।

नेपालमा सन् २००६ देखि जोखिम क्षेत्रका बालबालिकालाई जेइ विरुद्धको खोप दिन थालिएको हो। २०१५ देखि यो नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट