बालबालिकाको मोटोपन रोक्न बेलायतको कडा कदम, जंक फूड विज्ञापनमा पूर्ण प्रतिबन्ध
बालबालिकामा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न बेलायत सरकारले जंक फूड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थका विज्ञापनमा कडा प्रतिबन्ध लगाएको छ। नयाँ नियमअनुसार अब टेलिभिजनमा राति ९ बजेसम्म यस्ता अस्वास्थ्यकर खाद्य पदार्थका पेड विज्ञापन देखाउन पाइने छैन। साथै, अनलाइन प्लेटफर्महरूमा पनि कुनै पनि समयमा यस्ता विज्ञापन पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।
सरकारले यो कदमलाई बालबालिकामा लगातार बढ्दै गएको मोटोपनको दर घटाउने उद्देश्यसहित अघि सारिएको व्यापक सार्वजनिक स्वास्थ्य रणनीतिको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।
स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डीएचएससी)का अनुसार विज्ञापन प्रतिबन्ध लागू भएपछि बालबालिकाको वार्षिक क्यालोरी सेवन करिब ७.२ अर्बले घट्ने अनुमान गरिएको छ। यसबाट करिब २० हजार बालबालिकामा मोटोपनको समस्या कम हुने र दीर्घकालमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई करिब २ अर्ब पाउन्ड बराबरको आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।
बेलायतकी स्वास्थ्य मन्त्री एश्ले डाल्टनले भनिन्, “राति ९ बजेअघि जंक फूडका विज्ञापन रोक्नु र अनलाइन पेड विज्ञापनमा पूर्ण प्रतिबन्ध लगाउनुको उद्देश्य बालबालिकालाई अस्वास्थ्यकर खानाको अत्यधिक प्रभावबाट जोगाउनु हो। यसले अभिभावक र बालबालिकालाई स्वस्थ विकल्प छनोट गर्न सजिलो बनाउनेछ।”
उनका अनुसार सरकार अब केवल रोगको उपचारमा सीमित नरही रोगको रोकथाममा केन्द्रित हुँदै अघि बढिरहेको छ। “हामी चाहन्छौं कि मानिसहरू स्वस्थ रहून् र अति आवश्यक पर्दा मात्रै स्वास्थ्य सेवा लिनुपरोस्,” उनले थपिन्।
स्वास्थ्य विभागका अनुसार विभिन्न अध्ययनहरूले विज्ञापनले बालबालिकाको खाने बानी र खानाको समयमै गहिरो प्रभाव पार्ने देखाएका छन्। बाल्यकालमै अस्वास्थ्यकर खानाप्रतिको रुचि विकास हुँदा मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको जोखिम बढ्ने भएकाले यस्तो कडाइ आवश्यक भएको विभागको निष्कर्ष छ।



तपाईको प्रतिक्रिया दिनुहोस