Techie IT
२०८२ चैत्र १७, मंगलबार

महिलाका लागि ठूलो राहत: वीर अस्पतालमा आजदेखि निःशुल्क क्यान्सर परीक्षण सुरु


काठमाडौंस्थित वीर अस्पतालमा आजदेखि महिलाहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर परीक्षण सुरु गरिएको हो।

यो सेवा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रमको उद्घाटन गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले समयमै क्यान्सर पहिचान गर्न सके जीवन जोगाउन सकिने बताइन्। “समयमै जाँच गरियो भने उपचार सहज र कम खर्चिलो हुन्छ,” उनले भनिन्। उनले आफैंले पनि सो अवसरमा क्यान्सर परीक्षण गराएकी थिइन्।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति भूपेन्द्रकुमार बस्नेतले ढिलो पहिचानकै कारण क्यान्सर जटिल बन्दै गएको उल्लेख गरे।

अस्पतालका कार्यकारी निर्देशक डा. दिलिप शर्माले महिलाहरूले नियमित रूपमा परीक्षण गराउनुपर्ने र क्यान्सर लाग्दैमा डराउन नहुने बताएका छन् ।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार देशभरिका महिलाले यो सेवा लिन सक्नेछन्। क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर पुर्जी लिएर वीर अस्पतालमा जाँच गराउन सकिनेछ।

महिलाको स्वास्थ्य सुरक्षा मजबुत बनाउन महानगरले यस कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ बजेट समेत उपलब्ध गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट