डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि धनगढीमा, बिहीबारदेखि अनशन बस्ने घोषणा
वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन्। धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेर उनले बिहीबारदेखि सरकारसमक्ष पाँचबुँदे माग राख्दै अनशन सुरु गर्ने भएका हुन्।
दार्चुलाबाट जारी प्रेस विज्ञप्तिमा डा. केसीले सरकारले आफ्ना मागप्रति कुनै संवेदनशीलता नदेखाएको र साउन ५ गतेसम्म दिएको अल्टिमेटमलाई समेत बेवास्ता गरेकाले पुनः अनशनमा बस्न बाध्य भएको उल्लेख गरेका छन्। सत्याग्रहबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने चेतावनी उनले दिएका छन्।
विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा गैरनाफामूलक सार्वजनिक सेवा बनाउनुपर्नेमा जोड दिँदै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ।
यस्तै, मापदण्डविपरीत निजी मेडिकल कलेजमा सशुल्क सिट वृद्धि गर्ने, छात्रवृत्ति कटौती गर्ने तथा स्वार्थ बाझिने व्यक्तिहरूलाई चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्ने प्रयासप्रति उनले कडा आपत्ति जनाएका छन्।
विशेष गरी गेटास्थित शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. केसीले विश्वविद्यालयलाई राजनीतिक र व्यापारिक स्वार्थको अखडा बनाउन खोजिएको आरोप लगाएका छन्। उनले सो विवादित नियुक्ति तत्काल बदर गर्नुपर्ने माग राखेका छन्।
यसअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू विश्वविद्यालय सञ्चालनको विरोधी नभई यसको शीघ्र सञ्चालन र सुदृढीकरणकै पक्षमा रहेको स्पष्ट पारेका थिए। "मैले विश्वविद्यालयलाई असफल बनाउन खोजेको होइन, यसलाई छिट्टै सञ्चालन गरिनुपर्छ भन्ने मेरो अडान हो। तर, माफियासँग जोडिएका व्यक्तिहरूलाई उपकुलपति, रजिस्ट्रार वा अन्य जिम्मेवार पदमा नियुक्त गरिनु हुँदैन," उनले भने।
डा. केसीका प्रमुख ५ बुँदे मागहरू
१. शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरियोस्।
२. निजी मेडिकल कलेजमा सिट बढाउने र छात्रवृत्ति घटाउने निर्णय खारेज गरियोस्।
३. ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ अनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था लागू गरियोस्।
४. सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधारहरू विस्तार गरियोस्।
५. हत्या, आगजनी, लुटपाट तथा भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस्।
विगतमा सरकारसँग भएका सहमतिहरू पालना नभएको र चिकित्सा शिक्षा सुधारका विषयमा राज्य उदासीन बनेको आरोप लगाउँदै डा. केसीले माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस