सात हजार कुखुराको पोष्टमार्टम गर्दा १० भन्दा बढी घातक रोगहरू पुष्टि
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षको अवधिमा सात हजारभन्दा बढी कुखुराको शरीरभित्रको रोग पहिचानका लागि ‘पोष्टमार्टम’ गरेको छ।
चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको परीक्षण गरी रोगको प्रकृति र जोखिमको अवस्थाबारे प्रयोगशालाले निष्कर्ष निकालेको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार कुखुराहरूमा विविध प्रकारका जटिल संक्रमणहरू देखा परेका छन्। प्रयोगशालाले पोष्टमार्टमका साथै अत्याधुनिक विधिबाट नमुना परीक्षणसमेत गरेको छ। १,५०० कुखुराको नमुना परीक्षणका क्रममा १० भन्दा बढी प्रकारका घातक रोगहरू पुष्टि भएको उनले जानकारी दिए।
परीक्षणका मुख्य निष्कर्षहरू
इकोलाई (E-Coli): २२ प्रतिशत कुखुरामा।
गम्बारो (Gumboro): १३ प्रतिशत कुखुरामा।
सीआर्डी (घ्यारघ्यार): ९ प्रतिशत कुखुरामा।
अन्य: ढुसीजन्य रोग (९%), सिसिआरडी (४%), साल्मोनेलोसिस (३.५%) तथा एभियन इन्फ्लुएन्जा, हैजा र रानीखेत जस्ता संक्रमण।
प्रयोगशालाले द्रुत परीक्षण (Rapid Test) विधिबाट २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा र १७६ नमुनामध्ये १०९ वटामा गम्बारो रोग पुष्टि गरेको छ। त्यस्तै, कल्चर गरिएको ९०० नमुनामध्ये ७८९ वटामा संक्रमण देखिएको छ। डा. श्रेष्ठका अनुसार संक्रमित कुखुराको उपचारका लागि कुन प्रकारको एन्टीबायोटिक प्रभावकारी हुन्छ भन्नेबारे सेवाग्राहीलाई परामर्श दिने गरिएको छ।
कुखुरामा देखिने रोगको जोखिम न्यूनीकरण गर्न ‘जैविक सुरक्षा’ (Biosecurity) नै एक मात्र भरपर्दो विकल्प रहेको प्रयोगशाला प्रमुख डा. श्रेष्ठले बताएका छन् । जैविक सुरक्षाका विधिहरू कडाइका साथ पालना नहुँदा साना तथा ठूला दुवै प्रकारका फार्महरूमा रोगको प्रकोप बढ्ने जोखिम उच्च रहेको उनले चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस