Techie IT
२०८३ असोज १८, आइतबार

प्रधानमन्त्री विनाको सदन खुला होइन, बन्द हो : सभापति थापा


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा लोकतान्त्रिक अभ्यास, नागरिक संवाद र स्वस्थ बहसका लागि हरक्षेत्रमा 'खुलामञ्च' को आवश्यकता रहेकोमा जोड दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपस्थित ऐतिहासिक खुलामञ्चमा सम्बोधन गर्दै उनले संसद्को वर्तमान कार्यशैली र प्रधानमन्त्रीको उपस्थितिलाई लेकर कडा प्रश्न उठाएका हुन्।

सम्बोधनका क्रममा सभापति थापाले संसद्को औचित्यमाथि प्रश्न गर्दै भने, “हामीलाई पहिलो खुलामञ्च संसद्‌भित्र चाहिएको छ, तर दुर्भाग्य आज संसद् खुला छैन, बन्दप्रायः छ। जुन दिनसम्म प्रधानमन्त्री संसद्‌मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ।” उनले संसद्लाई जीवन्त, उत्तरदायी र खुला बहसको साझा थलो बनाउनुपर्नेमा जोड दिए।

कांग्रेसको गौरवशाली राजनीतिक इतिहास र राणाशासनविरोधी आन्दोलनको स्मरण गर्दै थापाले इतिहासले शक्ति मात्र नभई शिक्षा पनि दिने बताएका छन् । बिपी कोइराला, गिरिजाप्रसाद कोइरालादेखि पूर्वसभापति शेरबहादुर देउवासम्मको योगदानको चर्चा गर्दै उनले २००७ सालको क्रान्तिदेखि नै कांग्रेसले समयका ठूला प्रश्नहरूको उत्तर खोज्दै आएको बताए।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे स्पष्ट पार्दै उनले भने, “पार्टीभित्र नेतृत्वमाथि प्रश्न गर्दा कारबाही हुने होइन, बल्कि प्रश्नलाई स्वागत गर्ने खुला मञ्च कांग्रेसभित्र बन्नुपर्छ।”

त्यस्तै, बदलिँदो प्रविधिको सन्दर्भमा बोल्दै उनले सामाजिक सञ्जाललाई गालीगलौज र प्रतिशोधको अखडा बनाउनुको सट्टा तथ्य र तर्कमा आधारित संवादको खुला थलोको रूपमा विकास गर्नुपर्ने बताए। प्रतिक्रियाको राजनीतिभन्दा माथि उठेर सिङ्गो देश, संसद् र पार्टीभित्र नयाँ पुस्ताका चुनौतीहरूको सामना गर्नसक्ने सुदृढ राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट