पूर्वसभापति देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनु भएन: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा उपस्थित नभएको विषयमा व्यङ्ग्यात्मक तथा गम्भीर टिप्पणी गरेका छन्। महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले देउवाका लागि मञ्चमा कुर्सी खाली राखिए पनि उनी नआएको र अब कति पटक लिन जाने भन्ने प्रश्न खडा भएको बताए।
“पूर्वसभापति शेरबहादुर देउवाका लागि हामीले कुर्सी खाली राखेका थियौँ, तर उहाँ आउनुभएन। अब लिनका लागि कति पटक जाने हो र कसरी जाने हो?” थापाले प्रश्न गरे।
सम्बोधनका क्रममा थापाले पार्टीभित्रको आन्तरिक विग्रह र केही साथीहरू बाहिरिएको प्रसङ्ग पनि उठाए। कांग्रेस छोडेर गएका नेता–कार्यकर्ताहरूप्रति लक्षित गर्दै उनले अब पार्टीले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
“केही साथीहरूले पार्टी छाडेर जानुभएको छ। उहाँहरूले कांग्रेस छाडेको हो कि कांग्रेसले उहाँहरूलाई छाडेको हो? यो विषयमा अब हामीले स्पष्ट उत्तर दिनुपर्छ” थापाले भने। नयाँ नेतृत्व र विचारसहित अघि बढिरहेको कांग्रेसले विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टीभित्र सबैलाई समेट्ने र बाहिरिएकाहरूसँगको सम्बन्धमा स्पष्ट धारणा बनाउनुपर्नेमा उनले जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस