बिरामीहरूको सहारा बन्दै भिजन क्लब इन्टरनेशनल
आधुनिक जीवनशैली र व्यस्त दिनचर्याका कारण मानिसहरूमा बढ्दै गएको आत्मकेन्द्रित प्रवृत्तिबीच केही सामाजिक संस्थाहरू भने निःस्वार्थ भावनाले मानव सेवामा सक्रिय छन्। सामाजिक सेवा, मानवीय सहायता र विश्वव्यापी भाइचाराको भावनालाई आत्मसात् गर्दै भिजन क्लब्स इन्टरनेशनल अघि बढिरहेको छ ।
संयुक्त राज्य अमेरिकाको क्विन्स, न्यूयोर्कमा मुख्य कार्यालय रहेको भिजन क्लब्स इन्टरनेशनलले सामाजिक रूपान्तरण, मानवीय सहायता र समुदाय सेवाका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाको मुख्य उद्देश्य समाजका पछाडि परेका, असहाय तथा विपन्न वर्गलाई सहयोग पुर्याउनु रहेको जनाइएको छ।
संस्थाका काठमाडौं विशेष प्रतिनिधि विष्णु श्रेष्ठका अनुसार भिजन क्लब्स इन्टरनेशनलले मानवीय सहायता, सामुदायिक विकास तथा भाइचारा र नेटवर्किङलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपद्, महामारी वा संकटका समयमा प्रभावितलाई तत्काल राहत तथा उद्धार सामग्री उपलब्ध गराउनेदेखि स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने संस्थाको कार्यक्षेत्र रहेको छ।
यसै क्रममा हिजो शनिवार भिजन क्लब काठमाडौंले शनिबार गोर्कणेश्वर नगरपालिका–४, वडा कार्यालय भवन, माकलबारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शिविरमा विशेषगरी आँखा उपचार तथा मधुमेह (सुगर) परीक्षणलाई प्राथमिकता दिइएको थियो।
आयोजकका अनुसार शिविरबाट करिब २०० जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा मोतिबिन्दु, डायबेटिक रेटिनोप्याथी, रेटिनल हेमोरेज, दुर्दृष्टि, अदुर्दृष्टि, ड्राई आई (Dry Eye) लगायत आँखासम्बन्धी समस्या भएका तथा अन्य सामान्य स्वास्थ्य समस्या लिएर आएका सेवाग्राहीको परीक्षण गरिएको थियो।
शिविरमा तिलगंगा आँखा अस्पताल र नेपाल मेडिकल कलेजको प्राविधिक सहयोग रहेको थियो। स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श तथा उपचारसम्बन्धी जानकारीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
भिजन क्लब्स इन्टरनेशनल भौगोलिक रूपमा अमेरिकाको न्यूयोर्कमा रहे पनि यसको सेवा भावना विश्वव्यापी रहेको संस्थाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस