Techie IT
२०८३ भाद्र ३०, मंगलबार

निद्रा खोस्दैछन् यी तत्वहरू, वैज्ञानिक अनुसन्धानले देखायो डरलाग्दो वास्तविकता


बिहान उठ्नेबित्तिकै अलार्मको कर्कश आवाजले झस्कने र दिनभर थकान महसुस गर्ने समस्या आज अधिकांश मानिसको दैनिक जीवनको हिस्सा बनिसकेको छ। हालै लेखक एली हिर्शलैगले गरेको एक विशेष प्रयोग, स्लिप फाउन्डेसनका सुझावहरू तथा विश्वका विभिन्न ख्यातिप्राप्त विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले निकालेका निष्कर्षहरूले निद्रा, वातावरण र मानव स्वास्थ्यबीचको गहिरो सम्बन्धलाई उजागर गरेका छन्।

१. बिना अलार्म कसरी स्वाभाविक रूपमा उठ्ने? (एली हिर्शलैगको प्रयोग)
एली हिर्शलैगले आफ्नो जीवनमा गरेको एक साताको प्रयोगबाट यो प्रमाणित गरेकी छन् भने यदि शरीरको आन्तरिक जैविक घडी (Circadian Rhythm) लाई पुनः व्यवस्थित गरियो भने बिना कुनै अलार्मको भरमा सजिलै र ताजगीका साथ बिहान उठ्न सकिन्छ। त्यसका लागि निम्न सुझावहरु दिएकी छन् । 

प्राकृतिक लयको पहिचान: आफ्नो शरीरले खोज्ने निन्द्रा र उठ्ने समयलाई बुझ्नुपर्छ। वयस्कहरूका लागि दैनिक ७ देखि ९ घण्टाको निद्रा अनिवार्य हुन्छ।

वातावरण र दिनचर्या: आफु सुत्ने कोठाको तापमान नियन्त्रण गर्ने गर्ने, सुत्नुअघि डिजिटल स्क्रिनबाट टाढा रहने र बिहान उठ्नेबित्तिकै कोठामा प्राकृतिक प्रकाश (Morning Light) छिर्न दिँदा मस्तिष्कमा 'कोर्टिसोल' हार्मोन सक्रिय भई तन्दुरुस्ती प्रदान गर्छ भन्ने उनको बुझाई रहेको छ ।

२. निद्राको जैविक वास्तुकला र मस्तिष्कको सफाई (वैज्ञानिक अध्ययनहरू)
कलकत्ता विश्वविद्यालयका अनन्त रोय, एडमस विश्वविद्यालयका दिलिप मैती र मोहम्मद बिन फाद विश्वविद्यालयका बिमलकृष्ण वानिकले गरेको निद्रासम्बन्धी संयुक्त अनुसन्धानले निद्रालाई केवल विश्राम मात्र नभई शरीरको मुख्य मर्मतसम्भारको चरण भनेका छन्।

उनिहरुका अनुसार निद्राका विभिन्न  चरणहरू, निद्रा मुख्यतया REM र Non-REM (N1, N2, N3 वा Deep Sleep) चरणहरूमा विभाजित हुन्छ। विशेष गरी 'डिप स्लीप' (Deep Sleep) को समयमा शरीरको वृद्धि हर्मोन र रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुने गरेका छन् ।

उनिहरुको अनुसन्धानले गहिरो निद्राको समयमा तथा मस्तिष्कको डिटोक्सिफिकेसन तथा मस्तिष्कभित्रको ग्लाम्फेटिक प्रणालीले (Glymphatic System) कोषिकाका फोहोरहरूलाई सफा गर्ने महत्त्वपूर्ण काम गर्ने र निद्राको कमीले दीर्घकालीन रूपमा स्मरणशक्तिमा ह्रास ल्याउन सक्ने उनिहरुको निष्कर्ष रहेको छ । निद्राले कलेजो, मिर्गौला र मुटुको कार्यप्रणालीलाई समेत सन्तुलनमा राख्ने गरेको उनिहरुको अनुसन्धानले देखाएको छ ।

३. वातावरण, कोलाहल र निद्राबीचको सम्बन्ध (Dayna A. Johnson र अन्यको अध्ययन)
प्रसिद्ध अनुसन्धानकर्ताहरू Dayna A. Johnson, Martha E. Billings र Lauren Hale द्वारा गरिएको निद्रा र निद्रा सम्बन्धी विकारहरू: जनस्वास्थ्यमा यसको प्रभाव भन्ने शिर्षकमा गरिएको अनुसन्धानले वातावरणले निद्रामा पार्ने गहिरो प्रभाव देखाएको छ।

प्रभावकारी तत्त्वहरू: परिवारको सामाजिक वातावरण, छिमेकको सुरक्षा, कोलाहल (Noise), ट्राफिक, वायु प्रदूषण र पैदलयात्रीमैत्री नभएको भौतिक संरचनाले वयस्क तथा बालबालिकाको निद्राको ढाँचालाई प्रत्यक्ष असर पार्ने देखाएको छ ।

अल्पसंख्यक समुदायहरू वातावरणीय कारणले हुने अपर्याप्त निद्रा र स्लीप डिसअर्डर (निद्रासम्बन्धी विकार) को जोखिममा बढी पर्ने गरेको अध्ययनले औंल्याएको छ। स्वस्थ निद्रा र स्वास्थ्यमा देखिएको असमानतालाई कम गर्न वातावरणीय प्रभावका कारक तत्वहरुको सुधारका उपायहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता उनिहरुको अनुशन्धानले औंल्याइएको छ।

४. चीनमा गरिएको निद्राको गुणस्तर र जनचेतनासम्बन्धी अध्ययन (Han Qi र अन्यको अध्ययन)
चिनियाँ वयस्कहरूमा गरिएको अर्को एक विस्तृत नेटवर्क विश्लेषण अध्ययनमा ९३९ जना सहभागी थिए।

यस अध्ययनमा करिब ४८.८ प्रतिशत मानिसहरू कमजोर निद्राको समस्या (Poor Sleepers) बाट ग्रसित रहेको पाइएको छ । स्नायु प्रणाली, मानसिक रोग र मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरूमा खराब निद्राको जोखिम झनै उच्च हुन्छ।

अनुसनधानमा नियमित रूपमा निद्राको औषधि सेवन गर्नु लाभदायक हुन्छ भन्ने सोच राख्नेहरू र "हरेक दिन एउटै समयमा उठ्दा निद्रा बिग्रन्छ" भन्ने गलत मान्यता बोक्नेहरूमा निद्राको गुणस्तर झनै नराम्रो पाइएको छ। महामारी वा संकटको समयमा मानिसहरूलाई सही 'स्लीप हाइजीन' (निद्रासम्बन्धी असल बानी) शिक्षा, तनाव व्यवस्थापन र कग्निटिभ बिहेभिएरल थेरापी (CBT) दिनु अति आवश्यक रहेको यो समुहले निष्कर्ष निकालेको छ ।

समग्रमा, वातावरणीय सुधार, प्रदूषण नियन्त्रण, निद्रासम्बन्धी भ्रम चिर्दै वैज्ञानिक बानीको विकास गर्नु नै स्वस्थ जीवनको मुख्य आधार हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट