‘हाम्रो दक्ष जनशक्तिलाई सिधै लैजाँदा रोयल्टी तिर्नुपर्छ’ - मन्त्री प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा पढेका चिकित्सकलाई विदेशमा रोजगारी गर्न जाँदा रोयल्टी तिर्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको घोषणा गरेका छन् ।
उनले एमबीबीएस अध्ययनमा सरकारी लगानी ठूलो हुने उल्लेख गर्दै यस्तो व्यवस्था आवश्यक रहेको तर्क गरे । “अध्ययनका लागि विदेश जानेहरूमा यो नीति लागू नहुने तर रोजगारीका लागि जानेमा मात्र लागू गर्ने तयारी छ,” मन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले नेपालमै तयार भएका दक्ष चिकित्सकहरू विदेश पलायन भइरहेको समस्यातर्फ संकेत गर्दै भने, “हाम्रो विद्यार्थी स्कलरशीपमा एमबीबीएस पास गर्छ, देशले योग्य, दक्ष जनशक्ति उत्पादन गर्छ, अनि अमेरिका लगायतका विकसित देशहरूमा काम गर्न जान्छन्।”
उनका अनुसार देशको स्रोत लगानी गरेर तयार पारिएको दक्ष जनशक्तिको उपयोग विदेशले गरेबापत नेपालले केही रोयल्टी पाउनु उचित हुन्छ । “हामीले योग्य, दक्ष बनाएर तयार गरेको जनशक्तिलाई सिधैं काममा लगाएपछि रोयल्टी तिनु पर्दैन भन्न सकिँदैन,” मन्त्री पौडेलले भने।
नीतिगत व्यवस्था मिलाउन छलफल अघि बढाइने
यस विषयमा आवश्यक नीतिगत व्यवस्था मिलाउनका लागि सरकार गम्भीर छलफलको चरणमा रहेको मन्त्री पौडेलले जानकारी दिए । “कुनै कम्पनीले, संस्थाले या देशले हाम्रो दक्ष जनशक्ति लग्यो भने त्यसले रोयल्टी तिर्नुपर्छ,” उनले भने, “यसको उद्देश्य दक्ष जनशक्ति बाहिर जान नदिने होइन, तर देशले योगदान बापत उचित लाभ लिन मिलाउने व्यवस्था गर्नु हो।”
तपाईको प्रतिक्रिया दिनुहोस