पुल्चोकमा मधेसी भनिएर कुटिने दीपक साह कसरी बने उद्योगमन्त्री?
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका ५० वर्षीय दीपक साह आज देशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । उनको यो राजनीतिक र व्यावसायिक यात्रा संघर्षले भरिएको छ। बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि उनले यस मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन्।
२०५० को दशकमा काठमाडौँको पुल्चोक इञ्जिनियरिङ कलेजमा पढ्दा दीपक साहलाई मधेसी भएकै कारण अनेकन विभेद सहनुपरेको थियो। भारत–पाकिस्तानबीचको क्रिकेट खेललगायत विभिन्न बहानामा मधेसी विद्यार्थीहरूलाई लक्षित गरी कुटपिट र दुर्व्यवहार हुन्थ्यो। पढाइमा अब्बल र अनुशासित हुँदा पनि मधेसी मूलका विद्यार्थीहरूमाथि हुने अपमानजनक व्यवहारको प्रतिकार गर्नैका लागि साहले मार्सल आर्ट्सको ट्रेनिङ लिन बाध्य हुनुपरेको थियो।
पुल्चोक क्याम्पसमा सिके राउतका सिनियर रहेका साहले नै राउतलाई राजनीतिमा ल्याएको बताइन्छ। उनले सुरुमा डा. सीके राउतको नेतृत्वको 'स्वतन्त्र मधेस गठबन्धन'बाट राजनीतिक यात्रा थालेका थिए। पछि उनी 'जनमत पार्टी'को उपाध्यक्षसमेत बने। तर, पार्टीभित्र राउतसँग खटपट भएपछि उनले पार्टी छाडे र आफ्नै नेतृत्वमा अर्को पार्टी खोलेका थिए ।
त्यसपछि उनले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गरे। उज्यालो नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरे पनि त्यो टिक्न सकेन। रास्वपा बनेपछि साह कुलमानतर्फ फर्केनन्, बल्कि सुनसरी–४ बाट प्रतिनिधिसभा निर्वाचन लडेर विजयी भएका थिए ।
पुल्चोकबाट छात्रवृत्तिमा इन्जिनियरिङ उत्तीर्ण गरेका साहले विभिन्न हाइड्रोपावर कम्पनीमा लामो समय इन्जिनियर भएर काम गरे। पढाइ सकिएको एक महिनामै बाराको 'नेपाल पार्टिकल्स बोर्डस'बाट व्यावसायिक यात्रा सुरु गरेका उनले पछि सिन्धुपाल्चोकको भोटेकोशी हाइड्रोपावरमा १८ वर्षसम्म काम गरे।
भोटेकोशीमा उनको 'एक हप्ता काम र एक हप्ता बिदा'को प्रणाली थियो। महिनाको १५ दिन पाइने सो फुर्सदको समय उनी राजनीतिमा खर्चिन्थे।
एकपटक बिदा नपाउँदा पनि गठबन्धनको तालिमका लागि कतार गएका उनलाई, फर्किंदा कम्पनीका हाकिमले राजनीति वा जागिरमध्ये एक रोज्न दबाब दिएका थिए। उनले विनाकुनै हिचकिचाहट राजनीति रोजेर जागिर छाडे। पछि म्याग्दीको मिस्त्री खोला हाइड्रोइलेक्ट्रिकमा समेत काम गरेका उनले जनमत पार्टी संसदीय राजनीतिमा आएपछि पूर्णकालीन राजनीति गर्ने निर्णय गर्दै स्थायी रूपमै जागिर छाडेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस