कुवेतमा इरानी मिसाइल आक्रमणमा मारिएका तामाङको शव नेपाल ल्याइयो
सांकेतिक
कुवेतमा इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका नेपाली चालक सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। गए राति कुवेत एयरवेजको विमानमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।
तेह्रथुम स्थायी घर भएका ४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल खस्दा उनको दुःखद निधन भएको थियो। पश्चिम एसियामा चर्किएको पछिल्लो द्वन्द्वको चपेटामा परी ज्यान गुमाउने तामाङ दोस्रो नेपाली हुन्।
शव नेपाल ल्याउनका लागि कुवेतस्थित नेपाली दूतावासले आवश्यक समन्वय र प्रक्रियालाई तीव्रता दिएको थियो। विमानस्थलबाट शव बुझिलिएपछि परिवारजनले परम्पराअनुसार अन्तिम संस्कारको तयारी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस