सरकारद्वारा एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ पुगे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ। साउन २६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार, राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका उच्चपदस्थ कर्मचारीहरूलाई सरुवा तथा पदस्थापन गरिएको हो।
यस सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
निर्णयअनुसार, देशका दुई महत्त्वपूर्ण महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन्। लोक सेवा आयोगमा कार्यरत मुक्ति राम अर्याललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्र प्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ।
प्रदेश तहको प्रशासनिक नेतृत्वमा पनि उल्लेखनीय परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूलाई प्रदेश सचिवका रूपमा पठाइएको छ।
महत्त्वपूर्ण मन्त्रालय र निकायमा हेरफेर
गृह, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनजस्ता प्रमुख मन्त्रालयहरूमा नयाँ सहसचिवहरूले जिम्मेवारी पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सहसचिवहरूको सरुवा भएको छ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस