काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाटमा दुर्घटना
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित 'यस मोड' नजिक सोमबार बिहान बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७:३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन थापाले जानकारी दिए। करिब ४० जना यात्रु सवार रहेको उक्त बस पल्टिने क्रममा सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (एचआर ३९ जी २८७६) को ट्रकमा समेत सामान्य क्षति पुगेको छ।
दुर्घटनामा अछामकी मौसमी ओढ, दार्चुलाका पुष्कर सिंह धामी, भगवती अवस्थी र धनञ्जय जोशी, कैलालीकी निर्मला खड्का तथा बस चालक इन्द्र विक र सहचालक मोहन जोशी घाइते भएका छन्। घाइते सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहितको ११ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस