नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा प्रशिक्षण विभाग संयोजक कँडेल पक्राउ

रुपन्देही प्रहरीले ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलो ग्राम, स्टाम्प र स्टिकरसहित भारतीय नागरिकलाई पक्राउ गरेपछि चितवनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समेत पक्राउ परेका छन्।
गत शुक्रबार बेलुकी रुपन्देही प्रहरीले भारत उत्तर प्रदेश कानपुरका २५ वर्षीय अभिषेक यादवलाई सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ नजिक नियन्त्रणमा लिएको थियो। उनको साथबाट हजारौँ नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम्प, होलो ग्राम र स्टिकर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादवले प्रारम्भिक बयानमा आफू रास्वपा बागमती प्रदेश कमिटीका प्रशिक्षण विभाग संयोजक डा. हरि प्रसाद कँडेलसँग मिलेर यस्तो काम गर्दै आएको बताएका थिए। त्यसपछि प्रहरीले कँडेललाई चितवनबाट नियन्त्रणमा लिएर रुपन्देही ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप कुमार क्षेत्रीका अनुसार कँडेल यस प्रकरणका मुख्य अभियुक्त देखिएका छन्। उनले चितवनको लायन्स चोकमा "कलेज कोच नेपाल प्रा. लि." नामक शैक्षिक परामर्श केन्द्रमार्फत नक्कली प्रमाणपत्रको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बरामद सामग्रीहरूमा त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, अमिटी युनिभर्सिटी (भारत), जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी (हैदराबाद), छत्रपति साहुजी महाराज युनिभर्सिटी (कानपुर), असम उच्च माध्यमिक शिक्षा परिषद, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र युनिभर्सिटीलगायतका हजारौँ प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल, क्यारेक्टर र माइग्रेसन प्रमाणपत्र रहेका छन्। साथै विभिन्न विश्वविद्यालयका होलो ग्राम, स्टाम्प, स्टिकर र लोगो पनि बरामद भएको छ।
चितवनकै कालिका नगरपालिका–५ पदमपुरका कँडेल यसअघि स्थानीय विद्यालयमा शिक्षक रहेका थिए। प्रधानाध्यापक बन्न अयोग्य ठहरिएपछि उनी परामर्श व्यवसायमा संलग्न भएका थिए। उनीविरुद्ध सात वर्षअघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेको स्थानीय वडाध्यक्ष दीपक भट्टराईले बताएका छन्।
प्रहरीले यो प्रकरणलाई ठूलो स्तरको शैक्षिक ठगी नेटवर्कसँग जोडिएको भन्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस