नेपाल प्रहरी कार्ययोजना र कार्यसम्पादन सम्झौताको वार्षिक समीक्षा सम्पन्न

प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौता सम्बन्धी वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सम्पन्न कार्यक्रममा आइजीपी थापा, विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिहरूबीच सम्झौतामा हस्ताक्षर गरिएको थियो।
सम्झौतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुदिप गिरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी टेकबहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक एआइजी डा. सुन्दरप्रसाद ह्योजु, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख एआइजी चन्द्रकुबेर खापुङ र प्रशासन विभागका प्रमुख एआइजी कृष्णहरि शर्मा लगायतले हस्ताक्षर गरेका थिए।
त्यस्तै, मानवस्रोत विकास विभागका प्रमुख एआइजी दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी राजन अधिकारी, कार्य विभागका प्रमुख एआइजी सिद्धि विक्रम शाहबीच पनि सम्झौतामा हस्ताक्षर भएको छ।
यसैगरी, आइजीपी थापा र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख एआइजी डा. मनोजकुमार केसी तथा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधिबीच भर्चुअल माध्यममार्फत हस्ताक्षर सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी थापाले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई आधार मानेर तयार गरिएको कार्ययोजना र कार्यसम्पादन सम्झौताको कार्यान्वयन सन्तोषजनक रहेको उल्लेख गरे। “सम्झौताका लक्ष्य पूरा गर्न सबैले प्रारम्भदेखि नै प्रतिबद्धताका साथ लाग्नुपर्छ। प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गर्दै संगठनको रूपान्तरण र दीर्घकालीन विकासमा यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दिपक रेग्मीले कार्ययोजना र सम्झौता प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रममा एआइजी, डीआइजी, वरिष्ठ प्रहरी अधिकृतहरू, सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस