दमक इप्रकाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडपछि तीन प्रहरी कार्यालयका हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए। तीमध्ये एक जना थुनुवा स्वेच्छाले सम्पर्कमा आइसकेका छन् भने बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार त्यही घटनामा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाबाट ३६ जना र झिलझिले इप्रकाबाट पाँच जना थुनुवा फरार भएका थिए।
भदौ २४ गतेकै आन्दोलनका क्रममा विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियारमध्ये अधिकांश फिर्ता भएका छन्। लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेको र अझै २४ थान फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फिर्ता भएका हतियारमध्ये ११ थान एसएलआर, २६ थान इन्सास राइफल, १८ थान थ्रिनटथ्री राइफल, पाँच थान सटगन, छ थान ग्यास गन, छ थान रिभल्भर र तीन थान एसएमजी रहेका छन्।
फरार थुनुवा र बाँकी हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस