Techie IT
२०८२ असोज २१, मंगलबार

जनकपुरधाममा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी


धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ।

दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको हो। त्यही क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाइएको टहरामा आगजनी गरेका छन्।

आक्रोशित भीडले केही घरमा समेत आगजनी प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय घाइते भएका छन्।

अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले त्यहाँ कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार साँझ ६:३० बजेदेखि वडा नम्बर २० का विभिन्न क्षेत्रमा कर्फ्यू लागु गरिएको जनाइएको छ।

यसअघि पनि गत भदौ दोस्रो साता गणेश पूजाको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद भएको थियो। पोलमा राखिएको झण्डा हटाउने विषयलाई लिएर उत्पन्न विवादपछि दुवै पक्षबीच झडप भएको र त्यसपछि भदौ १६ गते सर्वपक्षीय बैठक बसेर सद्भाव कायम गर्ने सहमति भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट