१५औँ महाधिवेशन अपडेट: मतगणना आजै राष्ट्रिय सभागृहमा हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा नयाँ मोड आएको छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानपश्चात आजै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा सम्पन्न हुनेछ भने सभापति पदको आधिकारिक नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना प्रक्रिया अघि बढाइनेछ।
सभापतिबाहेक अन्य विभिन्न पदहरूका लागि खसेका मतपेटिका तथा मतपत्रहरू भने आजै पार्टीको केन्द्रीय कार्यालय, सानेपास्थित सुरक्षित कक्षमा लगिनेछ। निर्वाचन समितिको यस निर्णयले सभापति पदको मतपरिणामलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्छ।
यसपटकको १५औँ महाधिवेशनमा सभापति पदका लागि नेताहरू गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन समितिले मतगणनालाई निष्पक्ष, व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस