Techie IT
२०८२ माघ २१, बुधबार

सिरहा प्रादेशिक अस्पतालका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता


प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन गरिएको रकममध्ये रु ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा दाखिला नगरी आपसी मिलेमतोमा हिनामिना गरिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट उठेको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठ वटा बिल काउन्टरबाट कूल रु तीन करोड ८७ लाख ६६ हजार ९७४ सङ्कलन भएको सफ्टवेयर अभिलेखमा देखिए पनि अस्पतालको आधिकारिक खातामा भने रु तीन करोड ४८ लाख ८९ हजार २५० मात्र जम्मा भएको पाइयो। सफ्टवेयरमा देखिएको र बैंकमा दाखिला गरिएको रकमबीचको रु ३८ लाख ७७ हजार ७२४ कर्मचारीहरूले बदनियतपूर्वक हिनामिना गरेको आयोगको ठहर छ।

अस्पतालका तत्कालीन प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसँग सफ्टवेयरमार्फत दैनिक आम्दानी विवरण हेर्ने अधिकार हुँदाहुँदै पनि रकम कम जम्मा भएको विषयमा मौन बसेर अन्य कर्मचारीलाई भ्रष्टाचारमा सघाएको अख्तियारको दाबी छ।

यस प्रकरणमा आयोगले तत्कालीन प्रमुखद्वय डा. नागेन्द्र र डा. सरोज, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही रु ३८ लाख ७७ हजार ७२४ बिगो कायम गरी प्रतिवादी बनाएको छ।

त्यस्तै, बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डललाई रु २५ लाख ४७ हजार ४१७, सहायक कर्मचारी सरस्वतीकुमारी यादवलाई रु पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डललाई रु तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवलाई रु दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवलाई रु एक लाख ६४ हजार ६५९ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेकाले फौजदारी सजाय माग गर्न नमिल्ने भए पनि सरकारी बिगो असुल गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ। भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार रु ३८ लाख ७७ हजार ७२४ क्षतिपूर्ति असुल गर्न मागदाबी गरिएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट