नक्कली प्रमाणपत्रबाट सरकारी जागिर: मण्डल भ्रष्टाचारी ठहर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटना बाट सन् १९८३ मा माध्यमिक तह (एसएलसी सरह) उत्तीर्ण गरेको भन्दै रोल नम्बर ६२–७–३६० उल्लेख भएको प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए।
तर राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमार्फत उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा बिहार विद्यालय परीक्षा समितिले उक्त रोल नम्बरको प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको र मण्डलको नाम अभिलेखमा नभएको जानकारी पठाएको थियो।
अदालतमा बयानका क्रममा समेत मण्डलले उक्त प्रतिवेदनको खण्डन गर्न नसकेपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस