Techie IT
२०८२ चैत्र ८, आइतबार

पर्यटन विभागका पूर्वनिर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु


पर्यटन विभागका पूर्वनिर्देशक सचिन्द्रकुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालत मा सुरु भएको छ। सुनुवाइ विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल तथा उमेश कोइराला को इजलासमा भइरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आयोगका अनुसार यादवले आम्दानीको तुलनामा करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न सकेनन्।

अभियोगपत्रमा उल्लेख भए अनुसार २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको सेवा अवधिमा यादवले २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ। यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बिमा, हिमाल आरोहण सम्पर्क अधिकृतको रूपमा प्राप्त रकम, परामर्श सेवा, घरबहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा सेयर बिक्रीबाट प्राप्त रकम समावेश छन्।

तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, जीवन बिमा प्रिमियम र बैंक मौज्दातमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेका पाइएको छ।

यसरी करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नगरेको आधारमा आयोगले यादवले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट